0
सरकारी टोलीसंग १२ बुँदाको सम्झौता गरेपछि २२ दिनयता अनसनरत डा. गोविन्द केसीले आफ्नो अनसन तोडेका छन्।
शिक्षण अस्पतालस्थित अनसनस्थलमा उनलाई भूकम्पमा आमा गुमाएर काठमाण्डूस्थित एक बालगृहमा बस्दै आएकी सिन्धुपाल्चोककी साढे दुई वर्षिया बालिका मारसाङ्ग तामाङले मह र कागती मिसाएको झोल पिलाएकी थिइन्।
सम्झौतापत्रमा डा. केसी र सरकारकोतर्फबाट शिक्षासचिव शान्तबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सहमति

पछिल्लो सहमति अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीनको नियुक्ति भइसकेको छ।
डीनमा नियुक्त डा. जगदीश अग्रवाललाई पछिल्लो सहमतिसंगै नियुक्तिपत्र पनि दिइएको बताइएको छ।
मन्त्रिपरिषद् सामाजिक समितिको २०७२ भदौंको निर्णय अनुसार शैक्षिक सत्र २०७३/७४ का लागि एमबीबीएसतर्फ उपत्यकाभित्र ३८ लाख ५० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिएको छ।
उपत्यकाबाहिर चाहिँ उक्त शुल्क ४२ लाख ४५ हजार रुपैयाँ हुनेछ।
दन्त चिकित्साको स्नातक तह अर्थात् बिडिएस पढ्न १९ लाख ३२ हजार रुपैयाँ लाग्नेछ।
यी शुल्कहरु २०७४/७५ का लागि पनि कायम राख्ने सहमति छ।
डा. केसीको पछिल्लो प्रमुख मागमध्येको त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा भने प्रष्ट रुपमा सम्बोधन भएको देखिंदैन।
सबै विश्वविद्यालय र प्रतिष्ठानहरुको प्राज्ञिक मर्यादा कायम हुने गरी संरचनामा परिवर्तन गर्न र प्राज्ञिक विशिष्टता तथा योग्यताका आधारमा सम्बन्धित संस्थाको सभा अर्थात सिनेटबाट पदाधिकारी नियुक्त गर्न हालको कानुनमा संशोधन गर्ने सहमति भएको बताइएको छ।
त्यसका लागि तीन महिनाभित्र मस्यौदा तयार गरी कुलपतिसमक्ष पेश गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा १५ दिनभित्र उच्चस्तरीय समिति गठन गर्ने सहमति छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई थप स्वायत्ता दिनेबारे उक्त संस्थासंग प्रस्ताव माग गर्ने भनिएको छ।
यसैगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नभइञ्जेल नयां मनशायपत्र जारी नगर्ने, पुरानाको नवीकरण नगर्ने, नयां मेडिकल कलेजलाई सम्बन्धन नदिने र विस्तारित कार्यक्रमको पनि अनुमति नदिने सहमतिपत्रमा उल्लेख छ।
१२ बुंदे सहमतिपत्रमा विगतका सम्झौता तथा सहमतिहरु कार्यान्वयन भए,नभएको बुझ्नका लागि १५ दिनभित्र एउटा उच्चस्तरीय अनुगमन समिति गठन गर्ने बताइएको छ।
'फेरि अनसन बस्छु'
डा. केसीले पछिल्लो सम्झौता पनि कार्यान्वयन नभए जस्तोसुकै कठोर कदम चाल्न पनि आफू तयार रहेको बताए।
अनसन तोडेपछि सञ्चारकर्मीहरुसंग उनले भने, "सम्झौता कार्यान्वयनका लागि निरन्तर खबरदारी नागरिक समाजले, सञ्चारमाध्यम लगायत सबैले मिलेर गर्नुपर्छ। तैपनि कुरा सुनिएन भने अहिलेको जस्तै कदम चाल्न म बाध्य हुनेछु"।
उनले एक जना अमूक व्यक्तिलाई पदबाट हटाउन वा पदमा पुर्याउन नभइ प्रणाली संस्थागत गर्न आफूले संघर्ष गरेको बताए।
उनले अनसन तोडेपनि त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामाका लागि निरन्तर दबाब दिइरहने उल्लेख गरे।
source:com/bbc-nepali

Post a Comment

 
Top